समाजसेवामा अगाडि बढ्दै निता राउत

दोलखा – दोलखा जिल्लामा वि सं २०४६ सालमा जन्मिएकी निता राउत सामाजिक अभियान्ताको नामावलीमा परिचित नाम हो । बाबु शिवजी राउत र आमा महालक्ष्मी राउतकी माइली सन्तान निताले स्थानिय सैलुङको सुर्य साप्ताहिकबाट आफ्नो पत्रकारितामा क्रियाशिलता बढाएकी थिइन् । त्यसपछि त्यहींको रेडियो सैलुङ र कालीन्चोक एफएममा समेत काम गरेकी उनले दोलखाबाट सौर्यदैनिकको संवाददाताका रुपमा कार्यरत छन् । उनी क्रियाशिल महिला पत्रकार दोलखाकी अध्यक्ष पनि हुन् ।
उनी हाल प्रदेश ३ को गाउंपालीका राष्ट्रिय महासंघ नेपाल की प्रदेश समन्वय अधिकृत छन् । सानैबाट सहयोगी भावनामा हुर्केकी उनले गाउंमै पनि अलि विपन्न वर्गका कोही देखे परिवारकै तर्फबाट सहयोग गर्ने गर्थिन् । युवाअवस्थामा पोखराकी सरिता गुरुङ जो समाजसेवी हुन् , उनैसंगको भेट र प्रैरणाले नितालाई एक्लैले त आंट गरे सकिंदो रहेछ भन्ने सोंचाइले अग्रसर बनायो । त्यही गुणले उनी हाल निता राउत फाउण्डेशनको स्थापना गरी सामाजिक कार्यमा सक्रियताका साथ लागेकी छन् । संचारमाध्यममा रहेर अनुभव संगाल्दै अति विपन्न वर्ग पहिचान गर्दै सहयोगको सुरुवात गरेकी उनले विशेष गरी वृद्ध, वृद्धा र बालबालीकालाई लुगा, खाद्यान्न लगायत छात्रवृत्ति नै प्रदान गर्ने गरेकी छन् ।
उनको फाउण्डेशनले सामाजिक संजाल फेसबुकको माध्यमबाट सहयोग स्वरुपको रकम संकलन गर्छ ।सो रकम उपलब्ध गराउने सहयोगीलाई धन्यवाद दिंदै उनले भनिन् , विपन्न लाई सहयोग गर्दाको आनन्द विदेशमा पसिना बगाउनेलाई पनि उत्तीकै आउंछ , त्यसैले सहयोगी हात पाइरहेका छौं । काठ्माण्डौस्थित पत्रकारिता अध्यापन हुने सेफर्ड कलेजमा मास्टर्स इन मिडिया टेक्नोलोजी अध्ययन गरिरहेकी निताले राउतले मृगौला रोगीको सहयोगार्थ अभियान चलाएर सुरु गरेको सामाजिक कार्य हालसम्म अन्य कार्य पनि थप्दै जारी छ ।
उनको फाउण्डेशनले तराईका बाढी प्रभावितदेखि अभिभावकत्व ग्रहण , विद्यालयमा झोला, ड्रेस वितरण , एचआइभी संक्रमित बालबालीका, दृष्टिविहीन र अपांगता भएका बालबालीकालाई समेत सहयोग गर्दै आएको छ । यतीमात्र नभई दोलखामा रहेको गौरीशंकर बालगृहमा खाद्यान्न लगायतका सहयोग उनले गरेकी छन् ।यसरी सहयोगी हात खोजी सहयोगको अभियान जारी राखेकी निता देश, विदेशमै सामाजिक कार्यवापत सम्मानित समेत भएकी छन् । हालै दोलखाको सबैभन्दा उत्कृष्ट देवदास स्मृती पत्रकारिता पुरस्कारबाट सम्मान पाएकी उनले मलेसियामा सामाजिक कार्यवापतको युथ इन्स्पीरेशन वर्कर एक्सीलेन्सी अवार्ड प्राप्त गरिन् ।
उनको यो कामबाट उनका अभिभावक त खुसी छन् ,साथै ती विपन्न परिवारले दर्शाएको माया र ती बालबालीकाको अनुहारको खुसीले उनलाई आनन्द मिलेको छ ।हालै फाउण्डेशन मार्फत सुनसरीको इटहरीमा रहेको मुसहर वस्तीमा उनले गरेको सहयोगले चर्चा पायो ।
मुसहर बस्तीका ४५ घरधुरीलाई सिरक, म्याट्रेस र ७६ जना बालबालिकाहरुलाई टोपी, मोजा, स्वेटर र अन्य सामाग्री वितरण गरेको फाउण्डेसनकी अध्यक्ष निता राउतले बताइन् ।सबैकी साझा अभिभावक बनेकी राउतलाई फाउण्डेशनकै माध्यमबाट देशैभरि आवश्यक पर्ने वर्गमा सहयोग गर्न मन छ । त्यसका लागि उनको यो अभियानमा विदेशमा रहेका उनका चिनजानका साथीभाइको सहयोगसंगै उनले आम्दानी गरेको रकम पनि खर्चिएकी छन् । निता भन्छिन् , काम गर्दा सजिलो त छैन , त्यसैमाथि सहयोगका नाममा रकम संकलन गरेर सही सदुपयोग नगर्ने प्रवृत्ति बढेपछि सहयोगी हात कम हुंदै गएको र यसले आवश्यकतामा रहेका नागरिक बन्चित रहने समस्या हुन्छ । उनले स्वदेशी सहयोगीभन्दा विदेशमा पसिना बगाएकाबाटै सहयोग पाउने गरेको बताइन् । अफ्ठ्यारो परिस्थती आउने भएपनि आफुले थालेको यो अभियान बांचुन्जेल जारी राख्ने बताइन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *